नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग
Prime TV News ४ दिन अगाडि 
वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।
अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका छन्।
नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेको उनले बताए।
चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ। डा. सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि चिकित्सकहरू आकस्मिक सेवा सञ्चालन गर्न सकारात्मक भए पनि प्रशासनसँगको वार्ता असफल भएपछि आन्दोलन थप चर्किएको हो।
उनका अनुसार चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने आश्वासनपछि चिकित्सकहरूको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो। तर, वार्ताका क्रममा नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राखेपछि वातावरण तनावपूर्ण बनेको उनको दाबी छ।
डा. सिंहले वार्तापछि सीडीओ र एसपीले चिकित्सकप्रति अपशब्द प्रयोग गरेको तथा प्रहरी परिचालन गरेर चिकित्सकहरूलाई नियन्त्रणमा लिएको आरोप लगाए। उनका अनुसार चिकित्सकहरूको मोबाइलसमेत खोसिएको र करिब एक घण्टा नियन्त्रणमा राखिएको घटनापछि सुरक्षित वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेर सामूहिक राजीनामा दिने निर्णय गरिएको हो।
उनले सीडीओ र एसपी पदमा रहुञ्जेल चिकित्सकहरू काममा नफर्किने अडान दोहोर्याउँदै अस्पतालभित्र चिकित्सकमाथि आक्रमण हुने र वार्ताका क्रममा समेत प्रशासनबाट दबाब सिर्जना हुने अवस्था स्वीकार्य नभएको बताए।
यता नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको प्रशासनिक व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, चिकित्सकको सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।
गत साउन ८ गते नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशभर ओपीडी सेवा बन्द गरी आन्दोलन जारी राखेका छन्।







