विदेशमा रहेका नेपालीलाई मतदान गराउन पाँच मोडेल प्रस्ताव

User Image Prime TV News ४ दिन अगाडि
Image of विदेशमा रहेका नेपालीलाई मतदान गराउन पाँच मोडेल प्रस्ताव

काठमाडौ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमा सहभागी गराउन सकिने पाँच वटा मतदान मोडेल प्रस्ताव गरेका छन्।

सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै वाग्लेले विश्वका विभिन्न मुलुकमा प्रयोग भइरहेका प्रमुख निर्वाचन प्रणालीका आधारमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सकिने पाँच विकल्प प्रस्तुत गरेका हुन्।

उनले प्रस्ताव गरेका मोडेलहरूमा मतपेटिकामा आधारित मतदान, हुलाकमार्फत मतदान, प्रतिनिधिमूलक मतदान, इन्टरनेट भोटिङ र मिश्रित मोडेल रहेका छन्।

मतपेटिकामा आधारित मोडेल

यस प्रणालीअन्तर्गत विदेशस्थित नेपाली राजदूतावास वा तोकिएका कूटनीतिक निकायमा मतदान केन्द्र स्थापना गरी भौतिक रूपमा मतपत्र र मतपेटिका प्रयोग गरेर मतदान गराउने व्यवस्था गर्न सकिने वाग्लेले बताएका छन्। यो विधि प्राविधिक रूपमा सहज र विश्वसनीय मानिने भन्दै उनले ब्राजिल, फ्रान्स र मेक्सिकोले यसको प्रयोग गरिरहेको उल्लेख गरेका छन्।

हुलाकमार्फत मतदान

वाग्लेले दोस्रो विकल्पका रूपमा हुलाक मतदान प्रणाली प्रस्ताव गरेका छन्। यसमा मतदाताले हुलाकमार्फत मतपत्र प्राप्त गरी मतदान गरेर पुनः हुलाकबाटै पठाउने व्यवस्था गरिन्छ। कम खर्चमा विभिन्न स्थानमा रहेका मतदातालाई समेट्न यो प्रणाली प्रभावकारी हुने उनको भनाइ छ। अस्ट्रेलिया, क्यानडा र जर्मनीमा यस्तो प्रणाली प्रयोग भइरहेको उनले उल्लेख गरेका छन्।

प्रतिनिधिमूलक मतदान

यस प्रणालीमा विदेशमा रहेका मतदाताले आफ्नो तर्फबाट मतदान गर्न स्वदेशमा रहेका व्यक्तिलाई अधिकार दिन सक्छन्। बेलायत र नेदरल्यान्ड्समा निश्चित सर्तसहित यस्तो व्यवस्था रहेको वाग्लेले बताएका छन्। तर, यसमा दुरुपयोगको सम्भावना रहनेतर्फ उनले सचेत गराएका छन्।

इन्टरनेट भोटिङ

वाग्लेले इन्टरनेट मतदानलाई सबैभन्दा आधुनिक र प्रविधिमैत्री विकल्पका रूपमा प्रस्तुत गरेका छन्। यस प्रणालीबाट मतदाताले विश्वको जुनसुकै स्थानबाट सुरक्षित रूपमा मतदान गर्न सक्ने उनले बताएका छन्। एस्टोनिया, स्विट्जरल्यान्ड र फिलिपिन्सले यसको अभ्यास गरिरहेको उल्लेख गर्दै नेपालमा लागू गर्न उच्च सुरक्षा प्रणाली, भरपर्दो प्रविधि र सुरक्षित डाटा पूर्वाधार आवश्यक पर्ने उनले बताएका छन्।

मिश्रित मोडेल

मतदाताको सुविधा र भौगोलिक अवस्थाअनुसार दुई वा दुईभन्दा बढी विधिलाई एकैसाथ प्रयोग गर्ने प्रणालीलाई मिश्रित मोडेल भनिने वाग्लेले बताएका छन्। अस्ट्रेलिया र डेनमार्कले यस्तो लचिलो व्यवस्था अपनाएको उनले उल्लेख गरेका छन्।

प्रस्तावित निर्वाचन आयुक्त वाग्लेले नेपालको सन्दर्भमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयलाई चरणबद्ध रूपमा अघि बढाउनुपर्ने सुझाव दिएका छन्।