महिलाले अब ६ महिना तलबसहित प्रसूति बिदा पाउने प्रस्ताव

User Image Prime TV News ४ दिन अगाडि
Image of महिलाले अब ६ महिना तलबसहित प्रसूति बिदा पाउने प्रस्ताव

काठमाडौ । सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले अब सुत्केरी हुनुअघि वा पछि ६ महिनासम्म तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था गर्न सरकारले तयारी गरेको छ।

सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन गर्न तयार पारेको विधेयकमा हालको प्रसूति बिदाको अवधि बढाएर ६ महिना पुर्‍याउने प्रस्ताव गरेको हो। हाल ऐनको दफा १३ को उपदफा १ मा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले कम्तीमा ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ।

संशोधन विधेयकमा मूल ऐनको दफा १३ को उपदफा १ मा रहेको ‘कम्तीमा अन्ठानब्बे दिन’ भन्ने शब्दको सट्टा ‘६ महिना’ राख्ने प्रस्ताव गरिएको छ। यससँगै तलबसहितको प्रसूति बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउन खोजिएको हो।

यस्तै, हालको ऐनमा गर्भवती महिलाले मृत शिशु जन्माएमा वा जन्मिएको शिशुको मृत्यु भएमा समेत उपदफा १ बमोजिम प्रसूति बिदा पाउने व्यवस्था छ। संशोधन विधेयकमा भने यस्तो अवस्थाको बिदा ९८ दिन नै कायम राख्ने प्रस्ताव गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन गर्न बनेको विधेयक आफ्नो वेबसाइटमा सार्वजनिक गर्दै सरोकारवालासँग राय सुझाव माग गरेको छ।