रश्मी रिजाल मृत्यु प्रकरण : सानिमा क्यापिटलका सीईओसहित तीन जनाविरुद्ध जाहेरी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । रश्मी रिजाल मृत्यु प्रकरणमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनालसहित तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ।
सानिमा क्यापिटलकी कम्प्लाइन्स अफिसर रिजालको आत्मदाहपछि मृत्यु भएको घटनामा परिवारले क्यापिटलका सीईओ खनालसहित तीन जनाविरुद्ध प्रहरीमा जाहेरी दिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
प्रहरी स्रोतले समेत उक्त घटनामा तीन जनाविरुद्ध जाहेरी परेको पुष्टि गरेको छ। स्रोतका अनुसार जाहेरीमा घटना हुनुअघि सीईओ खनालसहित तीन जना रश्मीको खोजी गर्ने भन्दै उनको घर पुगेको उल्लेख गरिएको छ।
पारिवारिक स्रोतका अनुसार उनीहरूले रश्मीलाई खोज्ने बहानामा घर खानतलासीसमेत गरेका थिए। यद्यपि उनीहरूले के खोजेका थिए, के फेला पारे र के लिएर गए भन्ने विषय भने खुल्न सकेको छैन।
प्रहरीले घटनास्थलबाट प्राप्त प्रमाण, घटनास्थलको अवस्था, सीसीटीभी फुटेज तथा परिवारले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। पोस्टमार्टम रिपोर्टले रश्मीको मृत्यु आत्मदाहका कारण भएको पुष्टि गरे पनि आत्मदाह गर्नुपर्ने अवस्थाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रश्मीका सहकर्मीहरूले समेत उनी पछिल्ला केही दिनदेखि निराश देखिएको बताएका छन्। नुवाकोटको तादी गाउँपालिका स्थायी घर भएकी र हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९ मा बस्दै आएकी रश्मी तारकेश्वर–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा मृत अवस्थामा भेटिएकी थिइन्।
रश्मीका श्रीमान् र एक छोरा रहेका छन्।







