कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँट
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते आयोजना गर्न लागेको राष्ट्रिय भेला सम्पन्न गर्न विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको छ।
सोमबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाको समन्वयका लागि नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्।
विश्वकर्माका अनुसार भेलाको तयारीका लागि १० जना नेतालाई विभिन्न क्षेत्र परिचालनको जिम्मेवारी दिइएको छ। नेपाल विद्यार्थी संघ परिचालनको जिम्मेवारी कुन्दन काफ्ले, तरुण दल परिचालनको जिम्मेवारी जीतजंग बस्नेत, महिला संघ परिचालनको जिम्मेवारी उषा राउत र दलित संघ परिचालनको जिम्मेवारी यमुना विश्वकर्मा खड्कालाई दिइएको छ।
त्यस्तै, नेपाल किसान संघ परिचालनका लागि गणेश तिमिल्सिना, लोकतान्त्रिक आदिवासी जनजाति परिचालनका लागि जगत बराम र विदेश जनसम्पर्क समिति परिचालनका लागि किरण पौडेललाई जिम्मेवारी तोकिएको छ।
काठमाडौँ जिल्ला सम्पर्क समिति तथा खेलकुद समन्वयको जिम्मेवारी मोहनबहादुर बस्नेत, बुद्धिजीवी परिचालनको जिम्मेवारी मीन विश्वकर्मा र ट्रेड युनियन परिचालनको जिम्मेवारी हरिशरण नेपालीलाई दिइएको छ।
बैठकले अन्य भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि आवश्यकता अनुसार समिति गठन गरी परिचालन गर्ने निर्णय गरेको विश्वकर्माले बताए। उनका अनुसार राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधि खटाउने तयारी अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिहरूको नामावली बुधबारसम्म अन्तिम रूप दिने तयारी रहेको उनले जानकारी दिए।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नीतिगत सुधार र आगामी कार्यदिशाबारे छलफल गर्न कांग्रेसको इतर समूहले राष्ट्रिय भेलाको आयोजना गर्न लागेको हो। चुनदेवी बैठकले भेलालाई शक्ति प्रदर्शनभन्दा पनि नीतिगत बहसको थलोका रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ।







