स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

User Image Prime TV News ४ दिन अगाडि
Image of स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक अधिकारमा परेको असरप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा गरिएको तोडफोडको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले मंगलबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरेका छन्।

आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार घटनाबारे आयोगले स्थलगत अनुगमनसमेत गरेको छ। आयोगले जारी गरेको विज्ञप्तिमा चिकित्सकमाथि कुटपिट तथा अस्पतालमा तोडफोड हुनु निन्दनीय कार्य भएको उल्लेख गर्दै यस्ता घटनाले अराजकतालाई प्रश्रय दिनुका साथै कानुनी शासनमाथि चुनौती खडा गर्ने जनाएको छ।

विज्ञप्तिमा आन्दोलनका क्रममा आकस्मिकबाहेकका सेवा बन्द गरिँदा बिरामीहरू उपचारबाट वञ्चित भएको उल्लेख गर्दै स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्नु नेपालको संविधानको धारा ३५ ले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक तथा प्रचलित कानुनको मर्मविपरीत रहेको आयोगको ठहर छ।

आयोगले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिएको छ। साथै, स्वास्थ्य सेवा तत्काल नियमित सञ्चालन गर्न, विरोधका कार्यक्रम सञ्चालन गर्दा आमनागरिकको स्वास्थ्यमा असर नपर्ने वैकल्पिक उपाय अपनाउन तथा वार्तामार्फत समस्या समाधान गर्न सरकार, आन्दोलनरत चिकित्सक, मृतकका परिवार र सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।