नेप्से लगातार दोस्रो दिन घट्यो, २७ सय विन्दुभन्दा तल झर्यो
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । सोमबार घटेको सेयर बजारले मंगलबार पनि गिरावटलाई निरन्तरता दिएको छ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.६४ अंक अर्थात् ०.१७ प्रतिशतले घटेर २ हजार ६९६.६७ विन्दुमा कायम भएको छ। आज ३४२ कम्पनीको सेयर कारोबार भएकोमा ९९ कम्पनीको सेयर मूल्य बढेको, १६५ कम्पनीको घटेको तथा १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
मंगलबार कुल १ करोड ४ लाख १९ हजार २६० कित्ता सेयर ५५ हजार ५५३ पटक कारोबार हुँदा ४ अर्ब ४२ करोड ४९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबारको तुलनामा कारोबार भएको सेयर संख्या २५.१६ प्रतिशत र कारोबार रकम २७.१९ प्रतिशतले घटेको हो। सोमबार १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरमा कारोबार भएको थियो।
समूहगत परिसूचकतर्फ वित्त, होटल तथा पर्यटन, जलविद्युत् र व्यापार समूहमा वृद्धि भएको छ। सबैभन्दा धेरै व्यापार समूहको परिसूचक ०.७४ प्रतिशतले बढेको छ। यता, वाणिज्य बैंक, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा तथा अन्य समूहका परिसूचकमा गिरावट आएको छ। सबैभन्दा धेरै ‘अन्य’ समूहको परिसूचक ०.८० प्रतिशतले घटेको छ।
आज एभरेष्ट करल लिमिटेड, लक्ष्मी उन्नति कोष, गरिमा समृद्धि योजना, याम्वालिङ हाइड्रोपावर लिमिटेड र सिटिजन सुपर ३० म्युचुअल फन्डका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्। यस्तै, कुथली बुखरी स्मल हाइड्रोपावर, समृद्धि इक्विटी फन्ड, मेगा म्युचुअल फन्ड, धौलागिरी लघुवित्त वित्तीय संस्था र आरबीबी फोकस ४० का लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २७ करोड १४ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।







