सुनसरीमा प्रदर्शनपछि मुख्य राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

User Image Prime TV News ४ दिन अगाडि
Image of सुनसरीमा प्रदर्शनपछि मुख्य राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्जमा भएको घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन चर्किएसँगै प्रशासनले मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

देवानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि घटनाको विरोधमा प्रदर्शन भइरहेको छ। प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएपछि प्रशासनले पकलीदेखि कोशी ब्यारेजसम्मको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यु लागू गरेको हो।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम इनरुवा मुख्य बजार क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार अर्को सूचना जारी नभएसम्म तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा–बैठक गर्न तथा घेराउ गर्न निषेध गरिएको छ।

यसअघि नै देवानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न प्रभावित क्षेत्रमा कर्फ्यु यथावत् रहने जनाएको छ।