गोपालमान श्रेष्ठको निधनले देशले निष्ठावान नेता गुमायो : गगन थापा

User Image Prime TV News ४ दिन अगाडि
Image of गोपालमान श्रेष्ठको निधनले देशले निष्ठावान नेता गुमायो : गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको निधनले पार्टी र देशकै लागि अपूरणीय क्षति भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै सभापति थापाले नेता श्रेष्ठको निधनको खबरले आफू अत्यन्तै स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्। उनले श्रेष्ठलाई ‘आदरणीय अभिभावक’ र ‘निष्ठावान नेता’का रूपमा स्मरण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण तथा लोकतन्त्रको रक्षामा उनले पुर्‍याएको योगदान सधैँ प्रेरणादायी रहने बताएका छन्।

थापाले स्याङ्जाबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठले नेपाली कांग्रेसको कार्यवाहक सभापति, उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन्।

उनले पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित, निष्ठावान, अनुभवी तथा निडर नेता गुमाउनु देशकै लागि अपूरणीय क्षति भएको बताएका छन्। साथै, स्वर्गीय श्रेष्ठले देखाएको निष्ठा र समर्पणको मार्गमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गरेका छन्।