हास्य फिल्म ‘फलानो ढिस्कानो’ निर्माण घोषणा, साइग्रेस पोखरेल मुख्य भूमिकामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । द्रव्य प्रोडक्सनको ब्यानरमा हास्यप्रधान नेपाली चलचित्र ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ।
निर्माण पक्षले मंगलबार दुईवटा पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा कथावाचकका रूपमा परिचित साइग्रेस पोखरेललाई मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेको देखाइएको छ। पोस्टरले उनी फिल्ममा हास्यप्रधान भूमिकामा रहने संकेत गरेको छ।
एक पोस्टरमा उनी हँसिलो मुद्रामा चलचित्र पत्रकारको परिचयपत्र (प्रेस कार्ड) बोकेको देखिन्छ भने अर्को पोस्टरमा प्रेस कार्डसहित पठाओ बुक गरिरहेको दृश्य समावेश गरिएको छ। जय नेपाल हलमा आयोजित घोषणा कार्यक्रममा साइग्रेसले फिल्मप्रति आफ्नो आकर्षणबारे बोल्दै भने, “मैले ‘आ बाट आमा’ खेलेपछि फेरि अभिनय नगर्ने सोचेको थिएँ। तर अभिनय त नशाजस्तै रहेछ। ‘फलानो ढिस्कानो’को कथा मन परेकाले यो फिल्ममा आबद्ध भएको हुँ।”
निर्माण टिमले हाल साइग्रेसबाहेक अन्य कलाकारको नाम सार्वजनिक गरेको छैन। अन्य कलाकार तथा प्राविधिकबारे क्रमशः जानकारी गराइने जनाएको छ। फिल्मको निर्देशन राजकुमारले गर्नेछन्। उनका अनुसार चलचित्रको छायांकन आगामी दसैंपछि सुरु हुनेछ।







