अमेरिकाबिना इजरायलको अस्तित्व नरहने ट्रम्पको दाबी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सहयोगबिना इजरायलको अस्तित्व कायम रहन नसक्ने दाबी गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग मंगलबार हुने भेटअघि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्। अमेरिका र इजरायलबीच इरानसम्बन्धी रणनीतिमा मतभेद देखिन थालेका बेला दुई नेताबीच भेट हुन लागेको हो।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि ट्रम्प र नेतन्याहू पहिलोपटक भेट्न लागेका हुन्। नेतन्याहूसँगको भेटअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्नो र इजरायली प्रधानमन्त्रीको सैन्य उद्देश्यमा केही भिन्नता रहेको स्वीकार गरेका छन्। उनले अमेरिका धेरै देशप्रति अत्यधिक उदार हुँदै आएको पनि बताएका छन्।
एयर फोर्स वनमा पत्रकारहरूसँग ट्रम्पले भने, “साँचो भन्नुपर्दा, हामीबिना टिकिरहन नसक्ने धेरै देशहरूप्रति हामी धेरै राम्रो भइरहेका छौँ। अनि हामीबिना को टिकिरहन सक्दैन, थाहा छ? इजरायल। बिबी (नेतन्याहू) आउँदैछन्, उनी आफैँ भन्छन्।”
ट्रम्पले गत अप्रिलमा इजरायलले आफ्ना युद्धका लक्ष्य पूर्ण रूपमा हासिल गर्नुअघि नै इरानसँग युद्धविराम घोषणा गरेका थिए। त्यसैगरी, गत जुनमा अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीपत्र (एमओयू) पनि इजरायलसँग पूर्वपरामर्श नगरी भएको भन्दै दुई देशबीच मतभेद देखिएको थियो।
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि उनी र नेतन्याहूबीच हुन लागेको यो आठौँ भेट हो। दुवै नेता रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा सहभागी हुनुअघि भेटवार्ता गर्ने कार्यक्रम छ। ग्राहम इरान युद्धका प्रभावशाली समर्थक तथा वासिङ्टनमा नेतन्याहूका प्रमुख सहयोगीका रूपमा चिनिन्थे।
यसैबीच, अमेरिका प्रस्थान गर्नुअघि नेतन्याहूले ट्रम्पसँगको भेट मुख्य रूपमा इरान केन्द्रित हुने भए पनि सबै विषयहरू छलफलको कार्यसूचीमा रहने बताएका छन्।







