सरकार सस्तो प्रचारमुखी काममा केन्द्रित भयो : उज्यालो नेपाल पार्टी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीले वर्तमान सरकार समग्र अर्थतन्त्रमा देखिएको निराशा हटाएर आशा र विश्वास जगाउनेतर्फ केन्द्रित हुनुपर्नेमा सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको आरोप लगाएको छ।
काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनेपाले सरकारले जनतामा विश्वास जगाउने गरी आर्थिक सुधार र प्रभावकारी शासनतर्फ ध्यान दिनुपर्ने जनाएको हो।
पार्टी अध्यक्ष कुलमान घिसिङले प्रक्रियाभन्दा व्यक्तिकेन्द्रित निर्णय शैली प्रभावकारी बन्दै गएको जनअनुभूति बढिरहेको बताएका छन्। उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयता र राज्य प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने जोखिम रहेको टिप्पणी गरे।
घिसिङले बाहिरबाट नियुक्त गरिएका स्वकीय तथा सल्लाहकारहरूले मन्त्रालयका सचिव तथा कर्मचारीमाथि हस्तक्षेप गर्दा स्थायी कर्मचारीतन्त्र निरुत्साहित र निराश बनेको दाबी गरे। उनेपाले सरकारका जनहितकारी नीति र सकारात्मक कदमलाई रचनात्मक सहयोग गर्ने तथा जनविरोधी निर्णय, कमजोर कार्यसम्पादन, संस्थागत कमजोरी, भ्रष्टाचार संरक्षण र राज्य सञ्चालनमा देखिएका गैरजिम्मेवार प्रवृत्तिको लोकतान्त्रिक ढंगले विरोध गर्ने निर्णय गरेको जनाएको छ।
केन्द्रीय समिति बैठकले संविधान, कानुन र स्थापित प्रक्रियाभन्दा माथि कुनै व्यक्ति, पद वा शक्ति हुन नसक्ने स्पष्ट पार्दै राज्य सञ्चालनमा देखिएका कमजोरीप्रति चिन्ता व्यक्त गरेको छ। बैठकले देशको दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरणका लागि ‘हरित क्रान्ति, समृद्ध नेपाल’ को राष्ट्रिय मार्ग पारित गरेको अध्यक्ष घिसिङले जानकारी दिए।







