लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीले दिए राजीनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ।
केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणअनुसार कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना पाँच मन्त्रीलाई राजीनामा गराएको हो। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै मन्त्रीहरूको सामूहिक राजीनामा पेस गरेकी हुन्।
राजीनामा दिने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।
केन्द्रीय सत्ता समीकरण परिवर्तन भएपछि लुम्बिनी प्रदेशमा पनि कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सोही निर्णयअनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका हुन्। कांग्रेस सरकारबाट बाहिरिएसँगै लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त सरकार गठनको तयारी अघि बढेको छ।
नयाँ मन्त्री नियुक्ति, मन्त्रालय बाँडफाँट तथा सरकार गठनका विषयमा दुवै दलका शीर्ष नेताबीच छलफल भइरहेको बताइएको छ।







