सुनसरी घटनालाई राजनीतिकरण नगर्न रास्वपाको आग्रह

User Image Prime TV News ४ दिन अगाडि
Image of सुनसरी घटनालाई राजनीतिकरण नगर्न रास्वपाको आग्रह

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन्।

मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगरी शान्ति र सदभाव कायम गर्न सहयोगी भूमिका खेल्न सबै राजनीतिक दल तथा सम्बन्धित पक्षलाई आग्रह गरेका हुन्।

“अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं,” विज्ञप्तिमा लामिछानेले भनेका छन्। उनले रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यलगायत सबैलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

लामिछानेले कुनै पनि समस्या, विवाद वा असन्तुष्टिको समाधान मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै संवाद र सहकार्यबाट समाधान खोज्नुपर्ने बताएका छन्। नेपाली समाजको सबैभन्दा ठूलो शक्ति बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सदभाव रहेको भन्दै उनले त्यसलाई कमजोर पार्ने, साम्प्रदायिकता फैलाउने वा सामाजिक सहिष्णुतामा असर पार्ने कुनै पनि गतिविधि नगर्न र नगराउन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला सबैलाई आग्रह गरेका छन्।