प्रधानमन्त्रीको विरोध होइन, जिम्मेवार बनाउन खोजेका हौँ : कांग्रेस प्रमुख सचेतक थापा

User Image Prime TV News ४ दिन अगाडि
Image of प्रधानमन्त्रीको विरोध होइन, जिम्मेवार बनाउन खोजेका हौँ : कांग्रेस प्रमुख सचेतक थापा

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीको विरोध नभई संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेको स्पष्ट पारेकी छन्।

मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सीमा विवादका विषयमा प्रधानमन्त्रीबाट आधिकारिक जवाफ खोजिएकाले संसदमा उक्त विषय उठाइएको बताइन्।

उनका अनुसार सत्ता पक्षका प्रमुख सचेतकहरूले पनि यस विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता सभामुखमार्फत जनाएका छन्। प्रधानमन्त्रीले संसदमा प्रश्नोत्तरमार्फत नभए पनि राष्ट्रका नाममा सम्बोधन गर्दै सीमासम्बन्धी विषयमा जनतालाई स्पष्ट पार्न सक्ने सुझाव उनले दिइन्।

“जनताले सीमा विवादका बारेमा प्रधानमन्त्रीको मुखबाट जवाफ खोजिरहनुभएको छ। त्यो जवाफ नपाएसम्म हामीले सदनमा आकस्मिक समय लिएर ध्यानाकर्षण गराइरहनुपरेको हो,” थापाले भनिन्।

उनले प्रधानमन्त्रीको सम्बोधन र सन्देशको प्रतीक्षामा जनता रहेको भए पनि अहिलेसम्म यस विषयमा स्पष्ट धारणा सार्वजनिक नभएको बताइन्। कांग्रेस सदन अवरुद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै प्रमुख सचेतक थापाले पार्टी संविधान र विधिको शासनप्रति सधैँ प्रतिबद्ध रहेको उल्लेख गरिन्।