कर्णाली मुख्यमन्त्रीका लागि मंगलबहादुर शाहीको दाबी पेस
Prime TV News एक महिना अगाडि 
काठमाडौ । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन्।
शाहीले मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका हुन्। उनले नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टीका १४ गरी गठबन्धनमा रहेका २३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन्।
एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत शनिबार पदबाट राजीनामा दिएपछि कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो। प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समय दिएका थिए।
शाही मुगु प्रदेशसभा क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन्। उनले यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।







