प्रधानमन्त्री बालेनको अपिल: सुनसरी घटनामा संयम अपनाउन आग्रह, दोषीलाई कारबाही हुने
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिकलाई संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनाले समाजमा भय र अविश्वासको वातावरण सिर्जना गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
उनले घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही हुने विश्वास दिलाउँदै यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक निर्णय र कदम अघि बढाइरहेको बताएका छन्।
सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको उल्लेख गर्दै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनी कारबाही हुने बताएका छन्।
प्रधानमन्त्री शाहले सरकार घटनाप्रति गम्भीर रहेको र सम्पूर्ण घटनाक्रमको समीक्षा भइरहेको जानकारी दिएका छन्। पीडित परिवारलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
उनले नागरिकलाई आक्रोश, बदला र उत्तेजनाबाट टाढा रहन आग्रह गर्दै सामाजिक सद्भाव, प्रेम र आपसी सम्मान कायम राख्न अपिल गरेका छन्। "मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो," भन्दै उनले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु र पीडितलाई न्याय दिलाउनु रहेको उल्लेख गरेका छन्।







