नेदरल्यान्ड्सविरुद्ध नेपालको निर्णायक परीक्षा, जित्नैपर्ने दबाबमा टोली
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ।
उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। नेपालका लागि यो खेल अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।
एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा सिधै स्थान बनाउने सम्भावना जीवित राख्न नेपाललाई जित अनिवार्य छ। हार बेहोरेमा नेपालको लक्ष्यमा ठूलो धक्का पुग्नेछ।
जारी शृंखलामा नेपालले अहिलेसम्म तीनवटै खेल गुमाइसकेको छ। नामिबियासँग दुई तथा नेदरल्यान्ड्ससँग एक खेलमा पराजित भएको नेपाल २४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। नेदरल्यान्ड्स भने ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ।
नेपालले यस शृंखलामा ब्याटिङ र बलिङ दुवै विभागमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन। तीन खेलमा कुनै पनि नेपाली ब्याटरले अर्धशतक बनाउन सकेका छैनन्।
ओपनर कुशल भुर्तेल र आशिफ शेख, शीर्षक्रमका इशान पाण्डे तथा कप्तान रोहितकुमार पौडेल अपेक्षित लयमा देखिएका छैनन्। उपकप्तान दीपेन्द्रसिंह ऐरी र तल्लोक्रमका ब्याटर गुल्शनकुमार झाबाट पनि टोलीले अपेक्षित योगदान पाउन सकेको छैन।
बलिङतर्फ पनि नेपाल संघर्षरत छ। नामिबियाविरुद्ध करण केसीले पाँच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे पनि प्रमुख स्पिनर सन्दीप लामिछाने अझै विकेटविहीन छन्। सोमपाल कामीले पनि सीमित सफलता मात्रै हात पारेका छन्। विशेषगरी डेथ ओभरमा रन रोक्न नसक्नु नेपालका लागि ठूलो चुनौती बनेको छ।
यता, घरेलु टोली नेदरल्यान्ड्स उत्कृष्ट लयमा छ। कप्तान स्कट एड्वार्ड्स, बास डी लिडे र म्याक्स ओ'डोउडले लगातार राम्रो प्रदर्शन गरिरहेका छन् भने लोगन भान बिक, आर्यन दत्त र रुलोफ भान डेर मर्वे बलिङमा टोलीका मुख्य हतियार बनेका छन्।
हेड-टु-हेड तथ्यांकमा नेपाल र नेदरल्यान्ड्स बराबरीमा छन्। दुवै टोलीले हालसम्म खेलेका आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये चार–चार खेल जितेका छन्। तर नेदरल्यान्ड्सको घरेलु मैदानमा भने डच टोलीले तीनमध्ये दुई खेल आफ्नो पक्षमा पारेको छ।
महत्त्वपूर्ण खेलमा नेपालले आफ्नो कमजोर पक्ष सुधार्दै दबाबमा उत्कृष्ट प्रदर्शन गर्न सके मात्र जित निकाल्ने सम्भावना बलियो हुनेछ।







