जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सपिङ मलमा विस्फोट हुँदा तीन जनाको मृत्यु
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । जापानको दक्षिणी कुमामोटो प्रान्तमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
भूकम्पपछि एक सपिङ मलमा भएको विस्फोटमा दुई जनाको ज्यान गएको छ भने घर भत्किँदा अर्का एक जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
भूकम्पका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। प्रभावित क्षेत्रमा सडक चर्किनुका साथै भौतिक संरचनामा पनि क्षति पुगेको छ।
भूकम्पपछि विस्फोट भएको ‘एओन मल कुमामोटो’मा रातभर उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो। प्रान्तीय सरकारका अनुसार भग्नावशेषबाट आठ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये २० वर्ष उमेरका दुई युवतीको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एक जनाको कार्डियोपल्मोनरी अरेस्ट भएको बताइएको छ। अन्य पाँच जना घाइते भए पनि उनीहरूको अवस्था स्थिर रहेको अधिकारीहरूले जनाएका छन्।
विस्फोटको वास्तविक कारण अझै स्पष्ट हुन नसकेको भए पनि प्रारम्भिक रूपमा ग्यास विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा आपत्कालीन अग्नि उद्धार टोली, प्रहरी र जापान आत्मरक्षा बलका जवानहरूले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका छन्।
भूकम्पपछि दक्षिणपश्चिमी टापु क्युशुमा पराकम्पहरू आउने क्रम जारी रहेकाले करिब तीन लाख मानिसलाई सुरक्षित स्थान वा उद्धार केन्द्रमा जान निर्देशन दिइएको छ।
करिब २०० वटा पसल रहेको एओन सपिङ मलको एक भाग विस्फोटपछि पूर्ण रूपमा ध्वस्त भएको छ। भवनका स्टिल संरचना बाहिर देखिने गरी क्षति पुगेको छ भने पार्किङ क्षेत्रमा भग्नावशेष छरिएको छ।
अधिकारीहरूले पराकम्पको जोखिम अझै कायम रहेकाले सतर्क रहन स्थानीयवासीलाई आग्रह गरेका छन्।







