शान्ति र सामाजिक सद्भाव जोगाउन सबै पक्षले संयम अपनाउनुपर्छ: सभापति थापा

User Image Prime TV News एक महिना अगाडि
Image of शान्ति र सामाजिक सद्भाव जोगाउन सबै पक्षले संयम अपनाउनुपर्छ: सभापति थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीसहित देशका विभिन्न स्थानमा शान्ति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षले आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले वर्तमान परिस्थितिमा राजनीतिक दल, प्रशासन, जनप्रतिनिधि र नागरिक समाज सबैले संयमित ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।

उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको दीर्घकालीन साझा सम्पत्ति भएको उल्लेख गर्दै यसलाई जोगाउनु सबैको दायित्व रहेको बताए।

"धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति हो। यो कसैले दिएको वरदान होइन, नेपाली समाजले वर्षौँको साझा प्रयासबाट निर्माण गरेको पूँजी हो," थापाले भने।

थापाले आवेग र उत्तेजनामा नआई धैर्यता, संयमता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, कांग्रेसले आफ्ना जनप्रतिनिधिहरूलाई स्थानीय तहमा संवाद र सर्वपक्षीय बैठकमार्फत सद्भाव कायम राख्न सक्रिय हुन निर्देशन दिएको जानकारी दिए।

उनले सबै राजनीतिक दलले गरिरहेका प्रयासलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै प्रशासन, सञ्चारमाध्यम र सरोकारवाला सबै पक्षलाई पनि सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आह्वान गरे।

यस्तै, थापाले वर्तमान परिस्थितिमा सरकारको भूमिकाबारे प्रश्न उठाउँदै शान्ति–सुरक्षा कायम गर्न सरकार प्रभावकारी रूपमा सक्रिय हुनुपर्ने बताए।

"सरकार कहाँ छ? के गर्दै छ? सरकार बन्दुक, लाठी र सामाजिक सञ्जालका सन्देशमा मात्र सीमित हुनु हुँदैन," उनले भने।