कांग्रेसले तीन दिन शोक मनाउने, गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली

User Image Prime TV News ३ दिन अगाडि
Image of कांग्रेसले तीन दिन शोक मनाउने, गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौ । नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीभित्र शोक मनाउने निर्णय गरेको छ।

बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै १३, १४ र १५ साउनसम्म केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो। साथै, १४ साउनका दिन देशभरका पार्टी कार्यालय बन्द रहने जनाइएको छ।

७९ वर्षीय श्रेष्ठको उपचारका क्रममा ललितपुरस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको थियो। कांग्रेसले जारी गरेको शोक प्रस्तावमा उनलाई लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता तथा संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएका अनुभवी राजनीतिज्ञका रूपमा स्मरण गरेको छ।

विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय रहेका श्रेष्ठले विभिन्न आन्दोलनका क्रममा करिब छ वर्ष जेल जीवन बिताएका थिए। उनी २०४८, २०५६ र २०६४ मा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७० मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए।

श्रेष्ठले नेपाल सरकारमा उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक पनि थिए।

कांग्रेसले श्रेष्ठको योगदान लोकतन्त्र, संगठन निर्माण र सार्वजनिक जीवनमा सदैव स्मरणीय रहने उल्लेख गरेको छ। पार्टीले स्वर्गारोहणको १३ दिनसम्म सबै कार्यालयमा शोक पुस्तिका राख्ने तथा १३औँ दिन स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जनपछि शोकसभा आयोजना गर्ने कार्यक्रमसमेत सार्वजनिक गरेको छ।