सरकारको समीक्षा गर्ने समय आएको छैनः रवि लामिछाने
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे समीक्षा गर्ने समय अझै नआएको बताएका छन्।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री र सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै अहिले नै सरकारबारे निष्कर्ष निकाल्नु उपयुक्त नहुने बताए। "प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहनुभएको छ। अहिले नै हामी समीक्षाको विन्दुमा पुगेका छैनौँ। उहाँले आफ्नो काम गर्नुहुनेछ भन्ने विश्वास छ," लामिछानेले भने।
देवानगञ्ज प्रकरणपछि आयोजित सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाएका थिए। त्यसबारे प्रतिक्रिया दिँदै लामिछानेले उक्त बैठक दलका शीर्ष नेताहरूबीचको भएकाले सरकारको प्रतिनिधित्व उपप्रधान तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले गरेको बताए।
उनले अप्ठ्यारो परिस्थितिमा राजनीतिक दलहरूबीच सहकार्य, संवाद र समझदारी आवश्यक रहेको उल्लेख गर्दै सबै दलले सामाजिक सद्भाव र शान्ति कायम राख्न साझा प्रतिबद्धता व्यक्त गरेको बताए। लामिछानेले घटनाको प्रारम्भिक चरणमै सरकारको भूमिकाबारे निष्कर्षमा नपुग्न आग्रह गर्दै सरकारले आफ्नो दायित्व पूरा गर्ने विश्वाससमेत व्यक्त गरे।







