प्रचण्डको आग्रह: संवेदनशील अवस्थामा प्रधानमन्त्रीले सर्वदलीय संवादको पहल गर्नुपर्छ

User Image Prime TV News ३ दिन अगाडि
Image of प्रचण्डको आग्रह: संवेदनशील अवस्थामा प्रधानमन्त्रीले सर्वदलीय संवादको पहल गर्नुपर्छ

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेका बेला सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्ने बताएका छन्।

उनले यस्तो अवस्थामा प्रधानमन्त्रीले अग्रसर भएर सबै राजनीतिक दलबीच संवाद र सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। सुनसरी घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकपछि बोल्दै प्रचण्डले विगतमा भूकम्प, बाढी–पहिरो जस्ता विपद् तथा संविधान निर्माणजस्ता जटिल प्रक्रियामा राजनीतिक दलहरूले राष्ट्रिय एकता र साझा सहमतिको उदाहरण प्रस्तुत गरेको स्मरण गराए।

"आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक छ," उनले भने।

प्रचण्डले राष्ट्रिय महत्वका संवेदनशील विषयमा सरकार सबै राजनीतिक दलसँग सहकार्य गर्दै साझा समाधान खोज्न पर्याप्त सक्रिय हुन नसकेको भन्दै त्यसप्रति गम्भीर प्रश्न उठेको बताए। उनले सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याए।

प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने सुझाव दिँदै उनले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने धारणा राखे। उनले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै वर्तमान परिस्थितिलाई सहज बनाउन सकिने उल्लेख गर्दै अहिले राजनीतिक तिक्तता बढाउने होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको बताए।

साथै, सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।