चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सेवा ठप्प

User Image Prime TV News ३ दिन अगाडि
Image of चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कारबाही गर्न माग गर्दै बुधबार पनि देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।

संघले सरकार दोषीलाई कानुनी दायरामा ल्याउन र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न उदासीन बनेको आरोप लगाउँदै दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएको जनाएको छ। आन्दोलनका कारण देशभरका अस्पतालमा ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया तथा अन्य गैरआकस्मिक सेवाहरू प्रभावित भएका छन्।

यद्यपि, आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको छ। नियमित सेवा बन्द भएपछि काठमाडौंका प्रमुख सरकारी अस्पतालहरू, विशेषगरी शिक्षण अस्पताल र वीर अस्पतालमा बिरामीको चाप बढेको छ। उपचारका लागि आएका धेरै बिरामी सेवा नपाएर फर्किन बाध्य भएका छन् भने केहीले आकस्मिक सेवा वा अन्य अस्पतालको विकल्प खोजिरहेका छन्।

नेपाल चिकित्सक संघले दोषीमाथि तत्काल कानुनी कारबाही गरी स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नगरिए आन्दोलनका कार्यक्रम अझ सशक्त बनाइने चेतावनी दिएको छ। यता बिरामी र सर्वसाधारणले स्वास्थ्य सेवा अवरुद्ध हुँदा उपचारमा गम्भीर समस्या परेको भन्दै चिकित्सकहरूको जायज माग सम्बोधन गरी स्वास्थ्य सेवा यथाशीघ्र सहज बनाउन सरकारसँग आग्रह गरेका छन्।