सुनसरीका नागरिकले सरकार अभिभावक भएको अनुभूति गर्नुपर्छः शंकर पोखरेल
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरीका नागरिकले सरकारले आफूहरूको अभिभावकको भूमिका निर्वाह गरिरहेको छ भन्ने प्रत्याभूति पाउनुपर्ने बताएका छन्।
बुधबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
“सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गरिरहेको छ भन्ने प्रत्याभूति हुनुपर्छ,” उनले भने। पोखरेलले यस्ता घटना दोहोरिन नदिन त्यसका कारणहरूको गम्भीर रूपमा पहिचान गरी आवश्यक सुधारका कदम चाल्नुपर्ने धारणा पनि राखे।
उनले सुरक्षा निकायको मनोबल कमजोर भएका कारण यस्ता घटना भइरहेका हुन् वा होइनन् भन्ने विषयमा पनि समीक्षा आवश्यक रहेको बताए। साथै, भिड व्यवस्थापन गर्दा सुरक्षा निकायले नागरिकको सुरक्षा र मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए।
महासचिव पोखरेलले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकार, राजनीतिक दल र सरोकारवाला सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।







