प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित उम्मेदवार कार्कीको कार्ययोजना: विदेशमा रहेका नेपालीलाई मतदानदेखि ई–भोटिङसम्मको योजना

User Image Prime TV News ३ दिन अगाडि
Image of प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित उम्मेदवार कार्कीको कार्ययोजना: विदेशमा रहेका नेपालीलाई मतदानदेखि ई–भोटिङसम्मको योजना

काठमाडौ ।  प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणालीलाई थप आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित विस्तृत कार्ययोजना सार्वजनिक गरेका छन्।

संघीय संसद्को संसदीय सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजनामा उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखेका छन्। कार्कीले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर उपलब्ध गराउन चारवटा विकल्प प्रस्ताव गरेका छन्।

तीमध्ये नेपाली दूतावास वा तोकिएको स्थानमा प्रत्यक्ष मतदान, हुलाकमार्फत मतदान, ब्लकचेन प्रविधिमा आधारित सुरक्षित इन्टरनेट मतदान तथा प्रतिनिधिमूलक मतदान प्रणाली रहेका छन्। उनले सर्वोच्च अदालतको आदेश र नागरिकको अपेक्षाअनुसार परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आवश्यक कानुनी तथा कूटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचनलाई प्रविधिमैत्री बनाउन विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोगलाई प्राथमिकता दिने, मतदाता नामावली अनलाइन प्रणालीमार्फत अद्यावधिक गर्ने, बायोमेट्रिक पहिचान लागू गर्ने तथा मतदान केन्द्रको अनुगमनका लागि जीआईएस र जीपीएस प्रविधि प्रयोग गर्ने योजना पनि उनले अघि सारेका छन्। साथै, ई–भोटिङको सम्भाव्यता अध्ययन गरी पाइलट परियोजनाका रूपमा सुरु गर्ने लक्ष्यसमेत राखिएको छ।

निर्वाचन खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन राजनीतिक दलहरूको आर्थिक कारोबारको अनिवार्य लेखापरीक्षण तथा सार्वजनिकरणमा जोड दिँदै उनले सार्वजनिक कोषबाट दललाई अनुदान उपलब्ध गराउने विषयमा कानुनी व्यवस्था गर्न पहल गर्ने बताएका छन्। उनले ‘नो भोट’ सम्बन्धी कानुनी व्यवस्थाका लागि पनि आवश्यक पहल गर्ने उल्लेख गरेका छन्।

कार्ययोजनामा समावेशी प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिँदै संविधानको व्यवस्थाअनुसार महिला, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यकको सहभागिता सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख गरिएको छ। मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउने र बदर मत घटाउन विद्यालय तहको पाठ्यक्रममै निर्वाचन शिक्षा समावेश गर्ने प्रस्ताव पनि गरिएको छ।

त्यसैगरी, निर्वाचनसम्बन्धी छरिएका कानुनलाई एकीकृत गरी एउटै व्यापक कानुन निर्माण गर्ने, निर्वाचन आचारसंहितालाई थप प्रभावकारी बनाउने तथा निर्वाचन आयोगका प्रदेश र जिल्ला कार्यालयलाई स्रोत–साधन सम्पन्न बनाउँदै कर्मचारीको क्षमता अभिवृद्धि गर्ने योजना पनि कार्कीले प्रस्तुत गरेका छन्।

कार्कीले निर्वाचनलाई लोकतन्त्रको आधारस्तम्भको रूपमा उल्लेख गर्दै आफ्नो कार्ययोजना कार्यान्वयन भए नेपालको निर्वाचन प्रणाली अझ विश्वसनीय, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरअनुकूल बन्ने विश्वास व्यक्त गरेका छन्। साथै, निर्वाचन प्रणालीलाई थप सुदृढ बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको सहयोग आवश्यक रहने उनको भनाइ छ।