सर्वदलीय बैठकको निष्कर्ष: प्रदेशदेखि स्थानीय तहसम्म संवाद संयन्त्र गठन गर्न आह्वान
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले समाजमा शान्ति, सद्भाव र आपसी विश्वासको वातावरण कायम गर्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र गठन गरी संवाद अघि बढाउन आग्रह गरेको छ।
बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपिलमा केन्द्रस्तरको पहल मात्र पर्याप्त नहुने उल्लेख गर्दै संवादलाई तल्लो तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। साथै, नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न सबै राजनीतिक दलका विभिन्न तहका समितिलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।
बैठकले स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग समन्वय गरी सामाजिक सद्भाव कायम गर्ने अभियानलाई प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ। सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्लो समय देखिएका संवेदनशील घटनाक्रमलाई ध्यानमा राख्दै स्थानीय स्तरमै संवाद, सहकार्य र समन्वयलाई थप मजबुत बनाउन आवश्यक रहेको सर्वदलीय बैठकको ठहर छ।
बैठकले शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, स्थानीय नेतृत्व तथा सरोकारवाला पक्षलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न आग्रहसमेत गरेको छ।









