पर्साका एसपी सुदीप पाठकको सरुवा, पवनकुमार भट्टराईलाई जिम्मेवारी
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।
पाठकको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्साको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनापछि चिकित्सकहरूले दोषीमाथि कारबाहीसँगै पर्साका प्रमुख जिल्ला अधिकारी र एसपीको सरुवा माग गर्दै आन्दोलन गरिरहेका थिए।
घटनाबारे छलफलका क्रममा चिकित्सकहरूको वार्ता टोलीले पनि एसपी पाठकको सरुवा हुनुपर्ने माग राखेको थियो। यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रमुख रहेका एसपी भट्टराईलाई ‘जेनजी’ आन्दोलनपछि काठमाडौंको सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको थियो।
उनी अपरेसन तथा फिल्ड कमान्डमा अनुभवी प्रहरी अधिकृतका रूपमा परिचित छन्। यस्तै, एसपी भट्टराईले सम्हाल्दै आएको जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी भने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर थापालाई दिइएको छ। थापा यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थिए।







