सरकार–चिकित्सक वार्ता निष्कर्षविहीन, देशभर स्वास्थ्य सेवा दोस्रो दिन पनि प्रभावित
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट घटनाका दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारबीच बुधबार पनि सहमति हुन सकेन।
वार्ता निष्कर्षविहीन भएपछि देशभर आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा प्रभावित भएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजालले चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई कानुनी कारबाही, वार्ताका क्रममा दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका एसपी र डीएसपीको सरुवा तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने कानुनी सुनिश्चितता हुनुपर्ने मागमा सरकारसँग सहमति जुट्न नसकेको बताए।
उनले चिकित्सकमाथि हुने आक्रमणका घटना दोहोरिँदै आएको उल्लेख गर्दै उपचारका क्रममा अप्रिय घटना भए पनि चिकित्सकमाथि कुटपिट हुनु अस्वीकार्य भएको बताए। सरकारबाट माग पूरा गर्ने स्पष्ट र लिखित प्रतिबद्धता आए आन्दोलन तत्काल फिर्ता लिन तयार रहेको उनको भनाइ छ।
चिकित्सक संघले अस्पतालको सेवा बहिष्कार रहर नभई बाध्यता भएको बताउँदै कार्यस्थलमा सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने जनाएको छ। संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई थप प्रभावकारी बनाउँदै कडा कानुनी व्यवस्था गर्नुपर्ने मागसमेत राखेको छ।
यता स्वास्थ्य मन्त्रालयले भने चिकित्सकमाथि आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। मन्त्रालयका अनुसार विवादमा जोडिएका प्रहरी अधिकारीमध्ये डीएसपीको सरुवा प्रक्रिया पनि अघि बढेको छ भने कानुन संशोधनका विषयमा सरकार सकारात्मक रहेको बताइएको छ।
स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयले चिकित्सकका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै आन्दोलन फिर्ता लिएर स्वास्थ्य सेवा नियमित गर्न चिकित्सक संघसँग आग्रह गरेको छ।तर चिकित्सक संघले मौखिक आश्वासन पर्याप्त नभएको भन्दै माग कार्यान्वयनको स्पष्ट लिखित सहमति भएपछि मात्र आन्दोलन स्थगित गर्ने अडान दोहोर्याएको छ।
यसैबीच, चिकित्सकहरूले बुधबार काठमाडौंको माइतीघरमा कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका छन्। आन्दोलनका कारण देशभर आकस्मिक सेवाबाहेक ओपीडी, नियमित उपचार, शल्यक्रिया लगायतका सेवा प्रभावित हुँदा उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन्।







