कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुधबार बिहान करिब ७ः३० बजे महाराजगञ्ज नगरपालिका–२ गैडहवामा सडक किनारमा पार्किङ गरी राखिएका मोटरसाइकल र साइकललाई ना. ५ ख २३६४ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा महाराजगञ्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता तथा सोही स्थानका ७५ वर्षीय भोल्लर कुर्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र चालक मोरङका ४२ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।







