रवि लामिछाने र राष्ट्रपति पौडेलबीच भेट

User Image Prime TV News ३ दिन अगाडि
Image of रवि लामिछाने र राष्ट्रपति पौडेलबीच भेट

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच समसामयिक राजनीतिक घटनाक्रम तथा मुलुकको पछिल्लो अवस्थाबारे छलफल भएको हो। रास्वपाका अनुसार सभापति लामिछानेले राष्ट्रपति पौडेललाई सुनसरी घटनाका सन्दर्भमा आफूले आह्वान गरेको सर्वदलीय बैठक र त्यसबाट जारी गरिएको सातबुँदे संयुक्त अपिलबारे जानकारी गराएका थिए।

बुधबार नै लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा नौ राजनीतिक दल सहभागी भएका थिए। बैठकले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै सातबुँदे अपिल जारी गरेको थियो।

राष्ट्रपति र रास्वपा सभापतिबीचको भेटमा पछिल्लो राजनीतिक अवस्था, सामाजिक सद्भाव कायम गर्ने प्रयास तथा समसामयिक राष्ट्रिय विषयमा विचार–विमर्श भएको जनाइएको छ।