संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नजाने, परराष्ट्रमन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघ (यूएन)को वार्षिक महासभामा सहभागी नहुने भएका छन्।
प्रधानमन्त्रीको अनुपस्थितिमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभालाई सम्बोधन गर्ने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार महासभाका लागि आवश्यक तयारी अघि बढाउन सम्बन्धित महाशाखा तथा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगलाई निर्देशन दिइसकिएको छ।
संयुक्त राष्ट्रसंघको महासभाको औपचारिक उद्घाटन सेप्टेम्बर ८ मा हुनेछ भने उच्चस्तरीय बैठक सेप्टेम्बर २२ देखि सुरु हुनेछ। गत चैत १४ मा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेयता प्रधानमन्त्री शाहले कुनै पनि विदेश भ्रमण गरेका छैनन्। उनको पहिलो विदेश भ्रमण कहिले र कुन देशबाट सुरु हुनेछ भन्नेबारे पनि अझै औपचारिक निर्णय सार्वजनिक भएको छैन।
महासभाको तयारीसँगै परराष्ट्र मन्त्रालयले सार्क मन्त्रिपरिषद्को बैठक आयोजना गर्ने सम्भावनाबारे पनि छलफल गरिरहेको छ। सार्कको अध्यक्ष राष्ट्रका रूपमा यस्तो बैठक आयोजना गर्ने जिम्मेवारी नेपालसँग रहे पनि भारत–पाकिस्तानबीचको तनावका कारण विगत केही वर्षदेखि बैठक बस्न सकेको छैन।
नेपालले एक दशकभन्दा बढी समयदेखि सार्कको अध्यक्षता गर्दै आएको भए पनि भारत–पाकिस्तान सम्बन्धमा देखिएको तनावका कारण सन् २०१६ यता १९औँ सार्क शिखर सम्मेलन हुन सकेको छैन। परराष्ट्र मन्त्रालयले सदस्य राष्ट्रहरूको धारणा बुझ्दै बैठक सम्भव बनाउने विकल्पहरूबारे छलफल गरिरहेको जनाएको छ।
यद्यपि प्रधानमन्त्री तथा उनको सचिवालयले विदेश भ्रमण नगर्ने सम्बन्धमा कुनै औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्। रास्वपाका केही नेताले भने प्रधानमन्त्री शाहले एक वर्षसम्म विदेश भ्रमण नगर्ने तयारी रहेको बताएका छन्।







