उपराष्ट्रपति यादवद्वारा शान्ति, सद्भाव र संयमताका लागि अपिल
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र संयमता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
बुधबार जारी विज्ञप्तिमा उपराष्ट्रपति यादवले नेपालको विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई राष्ट्रको साझा सम्पत्ति भएको उल्लेख गरेका छन्।
उनले सबै नागरिकलाई आवेग, हिंसा र मुठभेडबाट टाढा रहँदै जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गरेका छन्। कुनै पनि समस्याको समाधान शान्तिपूर्ण संवादबाट मात्रै सम्भव हुने उल्लेख गर्दै आफ्ना माग र विचार संयमित तथा जिम्मेवार ढंगले प्रस्तुत गर्न सबै पक्षलाई अनुरोध गरेका छन्।
उपराष्ट्रपतिले स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजलाई आपसी समन्वय र सहकार्यमार्फत विश्वासको वातावरण निर्माण गर्न पनि आग्रह गरेका छन्। संवेदनशील परिस्थितिमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहनुपर्नेमा जोड दिँदै उनले सञ्चारमाध्यमलाई पनि तथ्यपरक, सन्तुलित र जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न अनुरोध गरेका छन्।
विज्ञप्तिमा राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनतालाई सक्रिय भूमिका निर्वाह गर्न उपराष्ट्रपति यादवले आह्वान गरेका छन्।








