सरकारले नौवटा विधेयक संसदमा पेस गर्ने निर्णय, सुनसरी घटनाबारे मौन

User Image Prime TV News ३ दिन अगाडि
Image of सरकारले नौवटा विधेयक संसदमा पेस गर्ने निर्णय, सुनसरी घटनाबारे मौन

काठमाडौ । सरकारले विभिन्न नौवटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयकसहित विभिन्न विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक र राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा लैजाने निर्णय गरेको छ।

त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेस गरिने भएको छ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले सुनसरीमा हालै भएको घटनाबारे भने कुनै निर्णय नगरेको जनाएको छ। उक्त विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा सरकारका प्रवक्ता पोखरेलले कुनै प्रतिक्रिया दिएनन्।