देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने र हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहने पूर्वानुमान गरिएको छ। साथै, कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
महाशाखाले भारी वर्षाका कारण पहिरो, डुबान, आकस्मिक बाढी तथा नदी–खोलाको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा भए त्यसलाई भारी वर्षा मानिने विभागले जनाएको छ।







