इरान–अमेरिका तनाव चुलियो, अमेरिकी–साउदी संयुक्त सैन्य कारबाहीपछि मध्यपूर्वमा युद्धको जोखिम बढ्यो

User Image Prime TV News २ दिन अगाडि
Image of इरान–अमेरिका तनाव चुलियो, अमेरिकी–साउदी संयुक्त सैन्य कारबाहीपछि मध्यपूर्वमा युद्धको जोखिम बढ्यो

काठमाडौ । मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव थप चुलिएको छ।

इरानले जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी दाबीपछि अमेरिका र साउदी अरबले इरानसँग सम्बन्धित सैन्य संरचना तथा इराकमा सक्रिय इरान समर्थित सशस्त्र समूहहरूविरुद्ध संयुक्त हवाई आक्रमण सुरु गरेका छन्।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार कारबाहीका क्रममा इरान समर्थित मिलिसियाका कमाण्ड तथा सैन्य पूर्वाधारलाई निशाना बनाइएको छ। प्रारम्भिक विवरणअनुसार आक्रमणमा इरानी रिभोलुसनरी गार्डसँग आबद्ध व्यक्तिसहित दर्जनौं लडाकु मारिएको दाबी गरिएको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै अमेरिका अब प्रतिआक्रमणको चरणमा प्रवेश गरेको बताएका छन्। उनले इरानले थप आक्रमण गरे अझ शक्तिशाली सैन्य जवाफ दिइने स्पष्ट पारेका छन्।

क्षेत्रीय तनाव बढेसँगै विश्व ऊर्जा बजारमा पनि प्रभाव परेको छ। ब्रेन्ट क्रुड तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ भने स्ट्रेट अफ हर्मुज र बाब अल–मन्डेबजस्ता रणनीतिक समुद्री मार्गमा जहाजहरूको आवागमन प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच, अमेरिकी प्रशासनले चीनलाई पनि इरानलाई सैन्य सहायता उपलब्ध नगराउन आग्रह गरेको छ। राष्ट्रपति ट्रम्पले चीनबाट इरानलाई हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सकिने समाचारप्रति चिन्ता व्यक्त गर्दै त्यस्तो कदमले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्ने बताएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमहरूले देशको दक्षिणी क्षेत्रमा शक्तिशाली विस्फोटका आवाज सुनिएको बताएका छन्। पछिल्ला घटनाक्रमले मध्यपूर्वमा युद्धको दायरा अझ विस्तार हुने चिन्ता बढाएको छ भने अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरिरहेको छ।