मधेस विकासका लागि हिंसा त्यागेर एकजुट हुन रास्वपा नेता सिंहको आह्वान

User Image Prime TV News एक महिना अगाडि
Image of मधेस विकासका लागि हिंसा त्यागेर एकजुट हुन रास्वपा नेता सिंहको आह्वान

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले मधेसको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै सिंहले विगतका आन्दोलन, जातीय तथा धार्मिक द्वन्द्व र हिंसात्मक गतिविधिले मधेसको विकासमा ठूलो असर परेको बताएका हुन्।

उनले यस्ता गतिविधिका कारण भौतिक संरचना क्षति हुनुका साथै शैक्षिक गतिविधि प्रभावित र व्यापार–व्यवसायमा अवरोध सिर्जना भएको उल्लेख गरेका छन्। 'अब समय आएको छ, सबै वर्ग र समुदाय मिलेर मधेसको विकासको एजेन्डालाई अगाडि बढाउने,' सिंहले भनेका छन्।

सांसद सिंहले अबको मधेसको प्राथमिकता शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि क्षेत्रको सुधार र युवाका लागि रोजगारी सिर्जना हुनुपर्नेमा जोड दिएका छन्। उनले दीर्घकालीन विकासका लागि सामाजिक एकता र शान्तिपूर्ण वातावरण आवश्यक रहेको बताए।

उनले समाजमा अशान्ति फैलाउने तथा सद्भाव खलल पार्ने कुनै पनि असामाजिक तत्वको पछि नलाग्न मधेसवासीलाई आग्रह गरेका छन्। शान्ति र विकासको विरोध गर्ने व्यक्ति जुनसुकै समुदाय वा वर्गका भए पनि उनीहरू मधेसको हितविपरीत हुने भन्दै सिंहले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।