सुनसरीको अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
Prime TV News २ दिन अगाडि 
काठमाडौ । सुनसरीसहित देशका विभिन्न स्थानमा विकसित सुरक्षा अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बिहीबार बस्ने भएको छ।
सुनसरीको पछिल्लो सुरक्षा अवस्था, शान्ति–सुरक्षा र समसामयिक राष्ट्रिय विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव सदस्य रहने व्यवस्था छ।
सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ। घटनापछि सरकारले सुरक्षा अवस्थाको समीक्षा गर्दै मंगलबार गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठकसमेत आयोजना गरेको थियो।
उक्त बैठकमा गोली प्रयोग गर्नुपरेको कारण, घटनाको वस्तुस्थिति तथा शान्ति–सुरक्षा कायम गर्ने उपायबारे छलफल भएको थियो। घटनाको छानबिनका लागि समिति गठन गरी अनुसन्धान अघि बढाइएको छ। सुरक्षा निकायका प्रमुखहरूले बल प्रयोगभन्दा संवादलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।
यसैबीच प्रधानमन्त्री शाहले बुधबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरी सुनसरीको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।
भेटका क्रममा प्रधानमन्त्रीले आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, परिस्थिति तत्काल नियन्त्रणमा लिन र सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।







