सरकार संकटप्रति बेखबर रहेको सांसद राईको आरोप

User Image Prime TV News २ दिन अगाडि
Image of सरकार संकटप्रति बेखबर रहेको सांसद राईको आरोप

काठमाडौ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकमा विकसित भइरहेका संवेदनशील परिस्थितिप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशमा हिंसात्मक अवस्था सिर्जना हुन सक्ने संकेत देखिँदा पनि सरकार आवश्यक सक्रियता नदेखाएको टिप्पणी गरे। “सरकार बेखबर छ। सरकार कहाँ छ? सायद यो बैठक लाइभ हेरिरहनुभएको छ भने हात हल्लाएर सोध्न चाहन्छु,” उनले भने, “अब सरकार बाहिर निस्कनुपर्छ। अन्धकारमा बसेर दूरबिन लगाई देश ठिक छ भन्न मिल्दैन।”

सांसद राईले सरकारले परिस्थितिको यथार्थ मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सबै पक्षलाई संयम अपनाउन आग्रह गरे। सरकार जिम्मेवार नभए पनि अन्य पक्षले गैरजिम्मेवार व्यवहार गर्न नहुने उनको भनाइ थियो।

उनले सञ्चारमाध्यमलाई पनि सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै भ्रामक समाचार, लेख तथा भिडियो सामग्री नफैलाउन अनुरोध गरे। साथै, प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित रहेको विषयमा उनले असन्तुष्टि जनाउँदै संवेदनशील अवस्थाबारे सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने बताए।