सुनसरी घटनाबारे सरकारसँग जिम्मेवारी लिन नेकपाको माग
Prime TV News २ दिन अगाडि 
काठमाडौ । विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसक्रममा भएको एक जनाको मृत्युको नैतिक तथा राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद गोपाल शर्माले उक्त घटनाले देशलाई स्तब्ध बनाएको भन्दै सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाए। उनले घटनामा ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ व्यक्ति घाइते भएको उल्लेख गर्दै यस्तो संवेदनशील परिस्थितिमा पनि सरकार पर्याप्त गम्भीर नदेखिएको आरोप लगाए।
गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद शर्माले जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए। “गृहमन्त्रीले यो घटनाको जिम्मेवारी लिनुहुन्छ कि अरूलाई दिनुहुन्छ?” भन्दै उनले राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
सांसद शर्माले प्रधानमन्त्रीको मौनतामाथि पनि प्रश्न उठाउँदै यति ठूलो घटना हुँदा सरकारको नेतृत्वबाट स्पष्ट धारणा नआएको टिप्पणी गरे। विगतमा राज्य संवेदनशील हुनुपर्ने धारणा राख्ने नेतृत्व अहिले आफ्नै कार्यकालमा भएको घटनामा मौन बसेको उनको आरोप थियो।
उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गर्दै प्रधानमन्त्री वा गृहमन्त्री तत्काल प्रतिनिधिसभामा उपस्थित भई घटनाबारे यथार्थ जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए।







