प्रचण्डको टिप्पणीः देशको राजनीतिक अवस्था सहज छैन, जनअपेक्षा पूरा हुन सकेन

User Image Prime TV News २ दिन अगाडि
Image of प्रचण्डको टिप्पणीः देशको राजनीतिक अवस्था सहज छैन, जनअपेक्षा पूरा हुन सकेन

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताएका छन्।

उनले सरकारका गतिविधिले जनताले अपेक्षा गरेको परिणाम दिन नसकेको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचनमार्फत जनताले व्यक्त गरेको अभिमतअनुसार शासन सञ्चालन हुन नसकेको बताए।

“अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन। हामीले आ–आफ्ना मत राखेका छौं, यो राम्रो कुरा हो,” उनले भने, “गत निर्वाचनमा हामीले आफ्ना एजेन्डा राख्यौं, जनताले पनि आफ्नो अभिमत प्रकट गरे। तर त्यसयताका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन।”

सरकारप्रति जनविश्वास कमजोर बन्दै गएको संकेत गर्दै उनले पछिल्ला घटनाक्रमले मुलुकको अवस्था झन् जटिल बन्न सक्ने चिन्ता व्यक्त गरे। “बरु दिनप्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ,” प्रचण्डले भने।

उनले वर्तमान चुनौतीको समाधानका लागि सरकार जिम्मेवार, संवेदनशील र जनअपेक्षाअनुसार अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।