सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी

User Image Prime TV News २ दिन अगाडि
Image of सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी

सिरहा ।  सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन तथा हुलदङ्गाका कारण शान्ति भङ्ग हुन सक्ने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु लगाइएको हो। जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको जनाएको छ। आदेश साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू रहनेछ।

प्रशासनका अनुसार कर्फ्यु क्षेत्र पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौकसम्म कायम गरिएको छ। त्यस्तै, उत्तरतर्फ गोलबजार नगरपालिका–६ स्थित सैनिक चौकदेखि दक्षिणतर्फ गोलबजार नगरपालिका–४ मा रहेको रा.प्र.रा.प्र. बहुमुखी क्याम्पस आसपासको क्षेत्रसम्म कर्फ्यु लागू गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कर्फ्यु आदेशको पालना गरी जिल्लाको शान्ति सुव्यवस्था सामान्य बनाउन सबैसँग सहयोगको आग्रह गरेका छन्। प्रशासनले कर्फ्यु उल्लङ्घन गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।