नेप्से १६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
Prime TV News २ दिन अगाडि 
काठमाडौ । साताको कारोबारको चौथो दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ।
नेप्से परिसूचक १६.२९ अंकले घटेर २ हजार ६७२.५८ विन्दुमा कायम भएको छ। आज ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले घटेको छ। बिहीबार ३३७ कम्पनीका सेयर कारोबार भएका छन्।
कारोबार भएका कम्पनीमध्ये ५९ वटाको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको सेयर मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज कुल ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर ४४ हजार ६५१ पटकको कारोबारबाट ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ।
यो रकम बुधबारको तुलनामा करिब १६ प्रतिशत कम हो। बुधबार ४ अर्ब २ करोड ९३ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बिहीबार बजारमा सूचीकृत सबै समूहका परिसूचक घटेका छन्। जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै १.२० प्रतिशतले घटेको छ।
कारोबार भएका कम्पनीमध्ये एभरेष्ट कलर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ। सेन्ट्रल फाइनान्स कम्पनी, शुभम पावर लिमिटेड, तारागाउँ रिजेन्सी होटल र एनएमबी हाइब्रिड फण्डका लगानीकर्ताले तुलनात्मक रूपमा बढी कमाएका छन्। यता, कालिञ्चोक हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर, ग्लोबल आइएमई समुन्नत योजना र रिज लाइन इनर्जीका लगानीकर्ताले बढी गुमाएका छन्।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको २४ करोड ३८ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएको कित्ताको आधारमा भने खानीखोला हाइड्रोपावर पहिलो स्थानमा रहेको छ, जसको ३ लाख ५४ हजार ७६५ कित्ता सेयर कारोबार भएको छ।







