मधेशका रास्वपा सांसदले गृहमन्त्रीको भूमिकामाथि उठाए प्रश्न

User Image Prime TV News ३ दिन अगाडि
Image of मधेशका रास्वपा सांसदले गृहमन्त्रीको भूमिकामाथि उठाए प्रश्न

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश क्षेत्रका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।

रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मधेशका सांसदहरूले पछिल्लो घटनाक्रममा गृहमन्त्रीको कार्यशैलीप्रति गुनासो गरेका हुन्। सुनसरीबाट सुरु भएको घटनाले मधेशका विभिन्न क्षेत्रमा प्रभाव पारिसक्दा पनि सम्बन्धित क्षेत्रका सांसदहरूसँग गृहमन्त्रीले छलफल नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

भेटमा सहभागी एक सांसदका अनुसार सुनसरी घटनापछि विकसित परिस्थितिबारे गृहमन्त्रीले सम्बन्धित जिल्लाका जनप्रतिनिधिसँग संवाद नगरेको विषय सभापति लामिछानेलाई जानकारी गराइएको थियो।

“सुनसरीबाट सुरु भएको घटना अहिले मधेशमा फैलिएको छ। त्यहाँका जिल्लाका सांसदसँग गृहमन्त्रीले कुराकानी पनि गर्नुभएको छैन। सभापतिलाई गृहमन्त्रीप्रतिको आक्रोश राख्यौं,” ती सांसदले बताए।

सभापति लामिछानेले पछिल्लो अवस्थाप्रति आफू संवेदनशील रहेको बताएका थिए। उनले सामाजिक सद्भाव कायम गर्न आवश्यक पहल गर्नुपर्ने भन्दै आवश्यक परे आफू मधेश जाने सोचमा रहेको छलफलमा सहभागी सांसदले जानकारी दिए।