लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने

User Image Prime TV News ३ दिन अगाडि
Image of लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने

काठमाडौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने सहमति भएको छ।

नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी बीच सत्ता सहकार्यको सहमति बनेपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि एमालेले आचार्यलाई नै प्रदेश सरकारको नेतृत्वमा निरन्तरता दिने निर्णय गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्वमुख्यमन्त्री लीला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलमा आचार्यलाई नै मुख्यमन्त्रीमा कायम राख्ने सहमति भएको बताइएको छ।

मुख्यमन्त्री आचार्यले पनि उक्त सहमतिको पुष्टि गर्दै आफूलाई नै निरन्तरता दिने निर्णय भएको जानकारी दिएका छन्। उनले अब नेकपासँग सत्ता सहकार्य र सरकार गठनका विषयमा थप छलफल अघि बढाउने बताए।

केन्द्रमा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यमा परिवर्तन आएपछि लुम्बिनी प्रदेशमा पनि नयाँ राजनीतिक समीकरण बन्ने प्रक्रिया सुरु भएको छ। एमाले र नेकपाबीच सहकार्यको सहमति बनेपछि प्रदेश सरकारको नेतृत्वबारे विभिन्न अड्कलबाजी हुँदै आएको थियो।

एमालेभित्र मुख्यमन्त्री आचार्यसँगै संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठलगायत नेताहरूको नाम चर्चामा रहे पनि पार्टी नेतृत्वले आचार्यलाई नै निरन्तरता दिने निष्कर्ष निकालेको हो।