सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रदर्शन तनावपूर्ण

User Image Prime TV News ३ दिन अगाडि
Image of सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रदर्शन तनावपूर्ण

सिरहा । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार बिहीबार दिउँसो भएको घटनामा एक युवकको मृत्यु भएको हो। गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद लामाले मृतकको पहिचान गणेश यादवका रूपमा भएको जानकारी दिएका छन्।

उनका अनुसार घटनामा अर्का एक जना घाइते भएका छन्। घाइतेको स्थानीय गोलबजारस्थित क्लिनिकमा उपचार भइरहेको छ। यसअघि गोलबजार क्षेत्रमा दुई समूहबीच झडप भएको थियो। घटनापछि प्रदर्शनकारीहरूले मृतकको शव सडकमा राखेर प्रदर्शन जारी राखेका छन्। प्रशासनका अनुसार प्रदर्शनकारीले शव उठाउन दिएका छैनन्।

प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास मात्रै प्रयोग गरेको जनाएको छ। घटनापछि जिल्लाका सुरक्षा निकायका प्रमुखहरू गोलबजार पुगेका छन्। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको र सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले जनाएको छ।