पूर्वराजा ज्ञानेन्द्रको अपिल– सामाजिक सद्भाव जोगाऔं, आपसी द्वन्द्व अन्त्य गरौं

User Image Prime TV News ३ दिन अगाडि
Image of पूर्वराजा ज्ञानेन्द्रको अपिल– सामाजिक सद्भाव जोगाऔं, आपसी द्वन्द्व अन्त्य गरौं

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालीहरूलाई सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेका छन्।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी सन्देशमा उनले सुनसरीमा भएको विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी प्रदेश र तराईका अन्य जिल्लासम्म फैलिएको घटनाले आफूलाई दुःखी बनाएको उल्लेख गरेका छन्।

नेपाल विभिन्न जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै उनले यस्ता अवाञ्छित घटनाले देशको मौलिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा आघात पुग्ने बताएका छन्। पूर्वराजा शाहले नेपाली समाजको पहिचान नै आपसी मेलमिलाप, सहअस्तित्व र पारस्परिक सम्मानमा आधारित रहेको उल्लेख गर्दै कुनै पनि बहानामा सामाजिक सद्भाव बिथोल्ने गतिविधि स्वीकार्य हुन नसक्ने धारणा राखेका छन्।

उनले सबै समुदाय, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला पक्षलाई संयम अपनाउँदै संवाद र सहकार्यबाट समस्या समाधान गर्न आग्रह गरेका छन्। साथै, देशभर रहेका नेपालीहरूलाई आपसी विश्वास र भाइचाराको भावना कायम राख्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान दिन आह्वान गरेका छन्।