राज्यको सक्रियता पर्याप्त नभएको रास्वपा सांसद मनीष झाको टिप्पणी
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले तराई–मधेस र पूर्वका केही जिल्लामा विकसित पछिल्लो सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुरक्षा संवेदनशीलता र सामाजिक सद्भाव कायम राख्न राज्यको सक्रियता पर्याप्त नभएको टिप्पणी गरे। सांसद झाले मधेस प्रदेशका करिब २० जना सांसदहरूले पार्टी सभापति रवि लामिछानेसँग क्षेत्रको पछिल्लो सुरक्षा अवस्थाबारे विशेष छलफल गरेको जानकारी दिए।
उनका अनुसार सुनसरी घटनापछि विकसित परिस्थितिमा सरकारको तदारुकता अपेक्षा अनुसार देखिएको छैन। उनले घटनाका पीडित परिवारले अझैसम्म शव बुझ्न नसकेको, सान्त्वना र उचित क्षतिपूर्तिको व्यवस्था हुन नसकेको उल्लेख गर्दै गृह प्रशासनको ध्यानाकर्षण गराए।
“मधेसको विद्यमान सुरक्षा संवेदनशीलतालाई संघीय सरकार र सिंहदरबारले जसरी हेर्नुपर्ने थियो, त्यो पर्याप्त देखिएन भन्ने हाम्रो निष्कर्ष छ,” उनले भने। जनकपुरजस्तो प्रमुख सहरमा बजार बन्द हुनु, विभिन्न स्थानमा विरोध प्रदर्शन हुनु र तनावपूर्ण अवस्था देखिनु चिन्ताको विषय भएको उनको भनाइ थियो।
सांसद झाले नेपालको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सामुदायिक एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिप्रति सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए। उनले संवाद, संयम र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्न सरकारलाई प्रभावकारी भूमिका खेल्न आग्रह गरे।






