देवानगञ्ज घटनामा बल प्रयोगप्रति ओलीको आपत्ति, संवादबाट समाधान खोज्न आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि विकसित तनावपूर्ण परिस्थितिमा राज्य पक्षबाट भएको बल प्रयोगप्रति आपत्ति जनाएका छन्।
बिहीबार जारी विज्ञप्तिमा ओलीले हिंसात्मक अवस्था शान्त पार्नुको सट्टा झन् उग्र बन्दै गएको उल्लेख गर्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले राष्ट्रिय सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
ओलीले नागरिकलाई विभाजित गरी अवाञ्छित उद्देश्य हासिल गर्ने प्रयास हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन र सामाजिक एकता तथा सद्भाव जोगाउन सक्रिय भूमिका खेल्न अपिल गरेका छन्।उनले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नु, संवादमार्फत समस्या समाधान गर्नु र मुलुकलाई शान्तिको मार्गमा अघि बढाउनु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकारले पर्याप्त सक्रियता नदेखाएको टिप्पणी गरेका छन्।
विज्ञप्तिमा उनले राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा पनि सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता चिन्ताजनक रहेको उल्लेख गर्दै हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्।
ओलीले वर्तमान विषम परिस्थितिमा राजनीतिक दलहरूले आपसी आरोप–प्रत्यारोप र प्रतिस्पर्धाभन्दा माथि उठेर राष्ट्रिय हित, शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नरहेको उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै मुलुकलाई वर्तमान जटिल अवस्थाबाट निकास दिन सकिने बताएका छन्। साथै, सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक समुदायका अगुवालाई राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन्।







