सुनसरी घटनाप्रति राष्ट्रपतिको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

User Image Prime TV News २ दिन अगाडि
Image of सुनसरी घटनाप्रति राष्ट्रपतिको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।

बिहीबार जारी अपिलमा राष्ट्रपति पौडेलले नेपाल सदियौँदेखि सामाजिक, धार्मिक र जातीय सहिष्णुता, मेलमिलाप तथा भ्रातृत्वको परम्पराले परिचित देश रहेको उल्लेख गर्दै यही पहिचानलाई जोगाउन आग्रह गरेका छन्।

“यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था सुनिश्चित गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई आग्रह गर्दछु,” अपिलमा उल्लेख छ।

राष्ट्रपतिले हालको विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति–सुरक्षा पुनःस्थापित गर्न र नागरिकले सुरक्षित वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सरकारबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गरेका छन्।

उनले समुदायबीचको एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न पनि आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।